नारायण भण्डारी हङकङ १ डिसेम्बर २०२२
हङकङमा आज बिहान करिब ३.४५ बजे, काम लोक हवेली मेन्सन, २७५-२७७ लकहार्ट रोडको छैठौं तल्लामा रहेको एकाइमा आगलागी भयो। आगो निभाउनका लागि दमकल घटनास्थलमा पुगेका थिए ।
घटनाको क्रममा १३ जना बासिन्दाहरू आफै बाहिर निस्केका थिए भने १४ बासिन्दाहरूलाई अग्निनियन्त्रकहरूले भवनबाट बाहिर निकाले। धुवाँको मुस्लोका कारण एक महिला बासिन्दा अस्वस्थ भइन् । प्यारामेडिकहरूले उपचार गरेपछि ठिक भएर उनलाई अस्पताल पठाउनु परेन। अग्निनियन्त्रकहरूले बिहानको ४ः५५ बजे सफलतापूर्वक आगो निभाएका थिए।
आगो सुरु भएको युनिटमा एक ८० वर्षीय पुरुष निवासी भेटिए र उनको सास फेर्न वा पल्स थिएन। पछि युनिटमा ३० वर्षीय पुरुषको जलेको शव फेला परेको थियो । फायर फाईटरहरुले शव तल झार फुटपाथमा राखे । प्रहरीले शवलाई टेन्टले छोपेको थियो । आगलागीको कारणबारे अग्निनियन्त्रकहरूले अनुसन्धान गरिरहेका छन् ।
छिमेकीका अनुसार मृतक दुई जना बुवा छोरा आगो लागेको युनिटमा सँगै बस्दै आएका छन् । घटनास्थलमा रहेका स्रोतका अनुसार जलेका छोराको छातीमा धारिलो चक्कु ठोकिएको र घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । आगोको अलार्म बज्दा घटना भएको बेला आफु सुतिरहेको र बाक्लो धुवाँले एक्कासी ब्युझिएको ७ तलाका एक बासिन्दाले बताए ।