कविता जन्मथलो
लेखकः- आरती आरोही बिष्ट
छन्दः- शार्दूलविक्रीडित
यौटा गाउँ थियो नि स्वर्ग सरिको हो जन्म मेरो स्थल
खेती गाउँ छ धर्मदेव रहने आभा छरी झल्मल !
उस्तै स्नेह छ पार्वती भुवनकी आमा झनै सुन्दरी
लाग्थ्यो स्वर्ण जसै मनोरम सदा सम्झन्छु माया गरी!! १
बस्ती त्यो सुनसान नै हुनगयो आमा बुवाको घर
टाढै बाट गरें प्रणाम दिलले भुल्नै कसो सक्छु र !
जान्थे काफल टिप्न ती वनभरी आनन्द मानीकन
ऐले रोदनमा छ यो मनचरी दुख्दा दुखी जीवन !! २
बस्थे सुन्दर त्यै निवास नगरी क्वै दुःख पीडा खपी
मेलापात गरेर गाउँ घरमा पाल्थे कठै सन्तती !
आएछौं परदेशमा अमर ती बिर्सेर नाता सबै
पीडा भोग्छ यहाँ सदैव मनले माया छ गाढा झनै !! ३
हे आमा ममता बुझौं म कसरी टाढा भयो जिन्दगी
हे बाबा सुखमा रमाउँ कसरी आधा गयो जिन्दगी !
प्यारो जन्मथलो पुगेर सजिलै सेवा सदा गर्नु छ
त्याग्दै मोह विचारको मगजले माटो चुमी मर्नु छ !! ४
बा आमा परिवारको नगर त्यो हो भूमि प्यारो अति
कस्तो याद सताउने हरघडी रुन्छे सधैं आरती !
फर्कौंला अब देशमा रहर भो यात्रा गरौं थालनी
के लेखौं कविता उदाश मनले चल्दैन यो लेखनी !! ५
-नैनिताल