न
नारायण भण्डारी हङकङ २१ अप्रिल २०२२
हङकङमा कोरोनाको संक्रमण लगातार घट्दो क्रममा रहेको छ हिजो मात्र २८ जनाले बढेको कोरोना आज ४० जनाले घटेको छ। मृतकको संख्या भने बढेको छ र आयातितको संख्या पनी बढेको छ आज।
हङकङमा आज ६२८ कोभिड-१९ केसहरु पत्ता लागेका छन जसमा ३१७ जना न्यूक्लिक एसिड परीक्षणबाट पुष्टि भएका छन् र ३११ जना Rapid Antigen Test (RAT) अनलाइन घोषणा प्लेटफर्म मार्फत पुष्टि भएका हुन। पाँचौं लहरमा हालसम्म कुल १,१८०७,७०३ जना संक्रमित भएका छन् । आज २५ केसहरू आयातित रहेका छन। जसमध्ये १६ जना विमानस्थलमा र ९ जना क्वारेन्टाइन होटलमा पोजेटिभ देखिएको हो । जसमध्ये ६ जना थाइल्याण्डबाट, ४ जना बेलायतबाट, ३ जना दक्षिण कोरियाबाट, ३ जना पाकिस्तानबाट र ३ जना सिंगापुरबाट आएका थिए । बाँकी यात्रु अमेरिका, अष्ट्रेलिया, युएई, क्यानडा, मलेसिया र जर्मनीबाट आएका थिए ।
खाद्य तथा स्वास्थ्यका उपसचिव डा चुई टाक-यीले सामाजिक दुरीका उपायहरू खुकुलो पार्ने पहिलो चरण आजबाट सुरु भएको बताउँदै जनतालाई सचेत रहन स्मरण गराएका छन। तेस्रो चरणको भ्याक्सिन पासको कार्यान्वयनलाई मे ३१ तारिखबाट सुरु गर्न अगाडि बढाइनेछ। त्यतिन्जेलसम्म, भ्याक्सिन पास अन्तर्गतका सबै लागू हुने व्यक्तिहरूले (केही विशेष समूहहरू बाहेक) तेस्रो डोज प्राप्त गरेको हुनुपर्छ।
आज नयाँ पुष्टि भएका ३१७ जनामध्ये अस्पताल प्राधिकरणबाट ६४, स्वास्थ्य विभागको जनस्वास्थ्य प्रयोगशालाबाट ४८ र बाँकी २०५ निजी प्रयोगशाला वा सामुदायिक परीक्षण केन्द्रबाट प्रत्यक्ष पुष्टि भएका छन् ।
परीक्षण गरिएका १५३ केसहरू मध्ये, डेल्टा भेरियन्ट समावेश भएको कुनै पनि केस थिएन। सबै केसहरू ओमिक्रोन भेरियन्ट समावेश थिए।
आज बिहानसम्म ६ वटा विद्यालयमा र्यापिड एन्टिजेन परीक्षण गर्दा ५ शिक्षक कर्मचारी र २ विद्यार्थीमा कोभिड–१९ पोजेटिभ देखिएको छ । हङकङ टापुका ५५ विद्यालय, काउलुन जिल्लाका ९३ विद्यालय र नयाँ क्षेत्रका १०२ विद्यालय गरी जम्मा २५० विद्यालयले आजदेखि फेस टु फेस कक्षा सञ्चालन गरेका छन् ।
पाँचौं लहरको शुरुवातदेखि जम्मा ८,९९९ बिरामीको मृत्यु भएको छ।
अस्पताल प्राधिकरणका डा सारा होले दुई हजार ५८३ भन्दा बढी बिरामी अझै अस्पतालमा भर्ना भईरहेको बताए । हालसम्म ६ जना बिरामीको अवस्था गम्भीर रहेको र तीमध्ये ८ जनाको अवस्था गम्भीर रहेको छ । गम्भीर अवस्थामा रहेका ४६ जना बिरामीको हाल सघन उपचार कक्षमा उपचार भइरहेको छ ।
सरकारी अस्पतालमा आज बिहान १२ बजेसम्म २३ बिरामीको मृत्यु भएको छ । १८ र १९ अप्रिलमा ५ बिरामीको मृत्यु भयो। विगत २४ घण्टामा मृत्यु भएका बाँकी १८ बिरामीमा ५९ देखि ९८ वर्षका ११ पुरुष र ७ महिला रहेका छन।
पछिल्लो २४ घण्टामा ४ सय ५ जना निको भएका छन् । जसमध्ये २९८ जना डिस्चार्ज भइसकेका छन् । यसैबीच, भर्ना स्क्रिनिङका क्रममा २ जना बिरामीमा पोजेटिभ देखिएको छ भने नजिकका ४ जनालाई क्वारेन्टाइनमा राखिएको छ ।
यसैबीच अस्पताल प्राधिकरणअन्तर्गतका २२ हजार १३ कर्मचारीमा कोभिड–१९ पोजेटिभ देखिएको छ । तीमध्ये २१ हजार ९१ जना निको भएर काममा फर्किएका छन् ।