चौतारी


gitaa

गीता अधिकारी/पोखरा हाल हङकङ | २०७७ चैत्र ११

मलाई जसले बनायो ।
म उसको हूँ पनि होइन पनि
ऊ आउँदैन मलाई भेट्दैन
जिम्मेवारीको आँखाले हेर्दैन पनि,
खाली हेरी पठाउँछ ।
कहिले काँही
लिदैन अपनत्व पनि,
होकी जस्तो मात्र गर्छ कहिलेकाँही ।

त्यसैले त म उभिएकोछु ।
यो दोधारको दोबाटोमा ,
अनि अन्योलको चौबाटोमा,
यो अनन्त आशाको सागरमा,
लालायित नयनहरुको बिस्कुन बिछ्याएर
वर्षौ देखि बसी रहेछु एक्लै
एउटा चौतारी भएर ।

चौतारी न हूँ खुला छु ।
स्वतन्त्र छु अनि खाली पनि
बसी दिन्छन् यात्रीहरू
केहीक्षण पढी दिए जस्तो गर्छन् मेरो कथाहरु
तर बुझ्ने कोसिस गर्दैनन् कसैले
मेरो शिलामा लेखिएको व्याथाहरू
केही कथा आफ्नै सुनाउँछन्
मेरो काँखमा बस्ने सौभाग्य लुट्छन्
मेरो पनि पढी दिएजस्तो गर्छन् तर बुझी दिँदैनन्
खोइ साँच्चै नबुझेको हो कि बुझ्न चाहँदैनन्
मेरो नमेटिने कथाहरु,
बुझाउनै पो सकिन की ! त मेरा ब्यथाहरू
गाउनै सकिन की कथाहरू लय मिलाएर
त्यसैले त –
वर्षौ देखि बसी रहेछु एक्लै
एउटा चौतारी भएर ।

उभिएर चौबाटोमा हेरीरहन्छु ।
अनन्त यात्रीहरू,
एकपछि अर्को आउँछन्
सुनाउँछन् मेरो जस्तै कथाहरू
आलिङ्गनमा लिन्छु ,
आफ्नो ठानी मिल्यो भने व्यथाहरू ,
तर लात मार्छन् काँखलाई
बनाउँछन् एउटा अर्को नयाँ कथा
दिएर अर्को व्यथा ।
जसले बनायो मलाई
मात्र छ उसको धूमिल सम्झनाहरू
एउटा कठोर झझल्को
चौतारी बनाई रहेको क्षणहरू
केही पीडा केही दुःखद अनुभुतीहरु
श्रृङ्खला झै आउँछन् जान्छन् विक्षीप्त बनाएर
त्यसैले त –
वर्षौ देखि बसी रहेछु एक्लै
एउटा पीडाको चौतारी भएर ।

जसले जसरी मलाई बनाए पनि
बन्न त बनेकै छु नि चौतारी
बनाउन सकेन मलाई घर ओहो!
म पनि बन्न चाहन्थें नी घर
कति सुरक्षित हुन्थे हुँला हँ!
कति लिपपोत हुन्थ्यो होला दलान
छाईन्थ्यो होला छाना,
लाईन्थ्यो होला झ्याल र ढोका
सरकारको खातामा लेखिन्थ्यो मेरो घरघुरी
तर म बन्नै सकिन कसैको घर
त्यसैले त –
वर्षौ देखि बसी रहेछु एक्लै
एउटा फगत चौतारी भएर ।

मलाई पनि हेरचाह गर्ने
एउटा मालिक हुन्थ्यो होला
आहा ! म घर बनेको भए,
वरिपरि हुन्थ्यो होला
बगैंचा सजिएका गमला
झिलिमिली बत्ती सिंगारिएको झ्याल
एउटा सजीव आँगन ,
यी सब फगत सपना सजाएर
वर्षौ देखि बसी रहेछु एक्लै
एउटा चौतारी भएर ।

ओहो! मेरो भाग्य !
न स्याहार ! न सजावट ।
एउटा निर्जीव फलैँचा भएर
एउटा मूल्यहीन काँख भएर
अरुकै कथा सुनी दिने श्रोता भएर
बसेकिछु एकपछि अर्को कथाको श्रृंखला थप्दै
एउटा अनिश्चित समयको बिन्दुको प्रतिक्षामा एउटा घर बन्ने सपना सजाएर
वर्षौ देखि बसी रहेछु एक्लै
एउटा चौतारी भएर ।


Translate »