नारायण भण्डारी १७ फेब्रुअरी २०२२
हङकङमा अस्पताल स्रोतका अनुसार आज करिब ५,००० पुष्टि भएका कोभिड-१९ का केसहरू रिपोर्ट गरिएको छ। स्वास्थ्य विभागको सेन्टर फर हेल्थ प्रोटेक्शन (CHP) का डा चुआङ शुक-क्वानले हिजो साँझ ४ः३० बजे घोषणा गरे कि ४ हजार २ सय ८५ नयाँ कोभिड-१९ पुष्टि भएका र सात हजार प्रारम्भिक केसहरू भएको बताएका थिए।
यसैबीच, प्रारम्भिक केससहित १० हजारभन्दा बढी बिरामी अस्पताल पठाउन पर्खिरहेका छन। सरकारले रोगको निदान र उपचारमा सहयोग गर्न हिजो १६ तारीक ७ वटा ‘तोकिएको क्लिनिक’ सञ्चालनमा ल्याएको छ । अस्पताल प्राधिकरणका प्रमुख प्रबन्धक (नर्सिङ) लरेन्स पून यान-विङले आज १७ तारीक बिहान एक रेडियो कार्यक्रममा बताए अनुसार भर्ना पर्खिरहेका बिरामीहरूलाई सहयोग गर्न भर्खरै खोलिएको नयॅा हटलाइनमा सामान्यतया औसतमा दैनिक २०० देखि ३०० सोधपुछका कलहरु पहिलो २ दिनमा आएको बताए।
हस्पिटलमा भर्ना नपाएर घरमा भर्नाको लागि पर्खिरहेका धेरै बिरामीहरू सिधै तोकिएको क्लिनिकमा उपचार लिन गए तर ड्युटीमा रहेका कर्मचारीहरूले उनीहरूलाई पहिले नै अपोइन्टमेन्ट लिनुपर्ने बताए। तर धेरै बिरामीहरूले हटलाइन पहुँचयोग्य नभएकोमा गुनासो र दुख व्यक्त गरे। यसरी गुनासो बढेपछि सम्बन्धित निकायले आफ्नो जनशक्ति बढाउने कुरा बुझिएको छ।